२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

एमसीसीको विरोधमा आन्दोलन चर्किएपछि वीरेन्द्रनगरमा कर्फ्यू

- विशेष खबर सोमबार १६, फागुन २०७८ ०९:२७

एमसीसीको विरोधमा आन्दोलन चर्किएपछि वीरेन्द्रनगरमा कर्फ्यू

सुर्खेत  । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ ।  अमेरिकी सहयोग सम्झौता, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा यस्तो आदेश जारी गरेको हो । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । 

एमसीसी विरोधी प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।

सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आगजनी गरेका छन् । सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

त्यस्तै उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । 

प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।


प्रतिकृया दिनुहोस