२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण रूपमा आएको एमाले बैठकको ठहर

- विशेष खबर आइतबार ०१, फागुन २०७८ ०९:४९

महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण रूपमा आएको एमाले बैठकको ठहर

काठमाडाैं । नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई षड्यन्त्रपूर्ण कदमको संज्ञा  दिएको छ ।

आइतबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको प्रमुख प्रतिपक्ष दल एमाले सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै महासचिव शङ्कर पोखरेलले प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग अदालतमाथिको प्रहार, सिङ्गो लोकतन्त्र र सार्वभौम सत्तामाथिको प्रहार भएको बैठकले ठहर गरेको बताए ।

महासचिव पोखरेलले भने, 'एमालेले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ, यसलाई एमालेले गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ ।' उनले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध बिगार्ने षड्यन्त्रका साथ आएको बताए । 

महासचिव पोखरेलले भने, 'आगामी स्थानीय तहको चुनावलाई समेत असर पार्ने र चुनावलाई पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको छ, यो प्रस्तावले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दालाई प्रभावित पार्ने योजनाका साथ आएको हाम्रो ठहर छ, यसले देशको राजनीतिक प्रणालीलाई अस्थिर बनाउँछ ।' 

महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने बैठकले निर्णय गरेको जानकारी दिँदै उनले महाअभियोग असफल पार्न जरुरी रहेकाले सोमबार बस्ने एमाले संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिने र महत्वपूर्ण निर्णय गर्ने बताए ।


प्रतिकृया दिनुहोस