- विशेष खबर आइतबार २३, माघ २०७८ ०८:००
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)लाई गठबन्धन तथा सरकारको रक्षाका लागि पत्र लेखेको जनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले आइतबार साँझ प्रकाशित गरेको विज्ञप्तिमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब परेकोले लेखिएको पत्रको बारेमा आएको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘२९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो।’
आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी मुख्यालयलाई लेखेको पत्र सञ्चारमाध्यमहरुमा आएका थिए । विज्ञप्तिमा एमसीसी परिमार्जनबिना पारित नहुने पार्टीको अडान यथावत रहेको पनि जनाएको छ । अध्यक्ष सचिवालयले प्रधानमन्त्रीका साथ लेखेको कूटनीतिक पत्रलाई गलत रुपमा व्याख्या गरेको आरोप लगाएको छ । ‘यो परियोजना परिमार्जनबिना पारित गर्नु हुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ,’ विज्ञप्तिमा भनिएको छ ।
एमसीसीका मुख्यालयका अधिकारीहरुले सो सम्झौता परिमार्जन हुने यसअघि नै स्पष्ट पारित सकेका छन् । एमसीसीको विषयमा ‘नियोजित प्रचारबाजी’ गरिएको आरोप दाहालको सचिवालयको छ । विज्ञप्तिमा पार्टीले गरेको कूटनीतिक पहललाई गलत रुपमा व्याख्या गरिएको जनाएको छ । सो पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र त्यसका लागि सरकारलाई केही समय आवश्यक हुने जनाएको छ ।
‘देशमा एकातिर एमसीसीबारे राजनीतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म विरोध र दबाबको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई 'परिमार्जनबिना पारित गर्न नसकिने' निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन’ दाहालको सचिवालयले भनेको छ ।
प्रतिकृया दिनुहोस