२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

स्थानीय चुनाव जेठ ४ मा गर्न आयोगको सुझाव

- विशेष खबर मङ्गलबार १८, माघ २०७८ ०५:०३

स्थानीय चुनाव जेठ ४ मा गर्न आयोगको सुझाव

काठमाडाैं ।  सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। मंगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव यही जेठ ४ मा गर्ने भएकोले तयारी थाल्न आग्रह गरेका छन्।  

प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोक्ने पनि बताएका छन्। प्रधानमन्त्री देउवाले एकैचरणमा निर्वाचन गर्ने पनि बताएका थिए। ०७४ सालमा वैशाख, असार र असोजमा गरी तीन तहमा स्थानीय चुनाव भएको थियो।

त्यसबेला निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ मा सकिँदैछ। निर्वाचन आयोगले कार्यकाल सकिने दिन जेठ ५ अघि नै स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्न नपर्ने बताउँदै आएको थियो।

सत्तारूढ गठबन्धनमा भने जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति भएको थियो। गठबन्धनले आयोगको परामर्शमा सरकारलाई चुनावको मिति तोक्न भनेको थियो। गठबन्धनले केही समयअगाडि राखेको बैठकमा केही संविधानविद्हरूले स्थानीय तह निर्वाचन ऐन २०७३ र संविधानका व्यवस्था बाझिएकाले ऐन संशोधन गर्न सुझावसमेत दिएका थिए।


प्रतिकृया दिनुहोस