२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

एमाले अध्यक्ष ओलीविरुद्ध भक्तपुर प्रशासनमा उजुरी

- विशेष खबर सोमबार १७, माघ २०७८ ०६:३१

एमाले अध्यक्ष ओलीविरुद्ध भक्तपुर प्रशासनमा उजुरी
माघ १२ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा ओली । तस्बिरः राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय कमिटीको फेसबुक पेजबाट ।

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।

'कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको' भन्दै उनीविरुद्ध आइतबार उजुरी परेको हो । ओलीविरुद्ध प्रशासनमा उजुरी आएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । 

ओली कोरोना संक्रमण भएको चौथो दिनमा गत माघ १२ गते सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो । एमाले भ्रातृ संगठन युवा संघले माघ १२ गते भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए ।

कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थित थिए ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि जारी गरेको आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्न भनिएको छ । 'जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिन बस्ने र ५ दिनिपछि कोभिड- १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने,' आदेशमा भनिएको छ । आदेशमा कुनै पनि प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला लगायतका कुनै पनि गतिविधि गर्न प्रशासनले रोक लगाएको उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण पुष्टि भएका वा संक्रमणको लक्षण देखिएकाहरूलाई कम्तिमा पनि सात दिन आइसोलेसनमा बस्न हरेक दिन अनुरोध गरिरहेको छ । 


प्रतिकृया दिनुहोस