- विशेष खबर शनिबार १५, माघ २०७८ ०८:३१
काठमाडाैं । सत्ता गठबन्धन दलहरु बीच स्थानीय तहको निर्वाचन ०७९ सालको जेठमा गर्ने सहमति भएकाे छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए ।
त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको हाे ।
सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्ने सहमति भएकाे बैठकमा सहभागी एक नेताले बताए ।
यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिबार बिहानमात्रै प्रधानमन्त्री देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । तर, आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा जेठमै निर्वाचन गर्ने सहमति जुटाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । पार्टीभित्रैबाट र चौतर्फी दबाबमा परेका देउवाले शुक्रबारमात्रै पार्टीका पदाधिकारीहरुसँग छलफलपछि स्थानीय निर्वाचनलाई जेठभित्रै गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।
संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधिको ५ वर्षको हुने व्यवस्था गरेको छ । तर, ऐनको व्यवस्थाबमोजिम आगामी जेठ ५ गते स्थानीय तह जनप्रतिनिधिविहीन हुनेछन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताए ।
विसं २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । त्यसलाई समेत मध्यनजर गरी संविधानसँग बाझिएका कानुन मिलाएर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने उनले बताए।
देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन लोकतान्त्रिक मूल्यअनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जानमोर्चाका शीर्षनेता सहभागी थिए ।
प्रतिकृया दिनुहोस