२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचन मितिबारे छलफल हुने

- विशेष खबर शनिबार १५, माघ २०७८ ०८:४९

सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचन मितिबारे छलफल हुने

 काठमाडौं । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । शनिबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।

स्थानीय तहकाे निर्वाचन वेशाखमा गर्ने कि ६ महिना सारेर तीनै तहकाे एकैपटक गर्ने भन्नेमा गठबन्धन दलमा विवाद छ । गठबन्धनमा यसअघि स्थानीय तहकाे चुनाव मंसिरमा सार्नका लागि एेन संशाेधन गर्ने बारे छलफल भएकाे थियाे । 

कांग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवालाइ वैशाखमै चुनाव गर्नुपर्ने दबाव छ भने गठबन्धनका सहयात्री दल एेन संशाेधन गरेर सार्नुपर्ने अडानमा छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारकाे बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघकाे निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहेका छन् ।

निर्वाचन समयमै गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् । 

यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

शुक्रबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बिहान बैठक बस्न लागेको हो ।


प्रतिकृया दिनुहोस