- विशेष खबर बिहिबार १३, माघ २०७८ ०९:३९
काठमाडौं । कोरोना संक्रमण भएको चौथो दिनमै प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
माघ ९ गते उनलाई कोरोना पुष्टि भएको सार्वजनिक गरिएको थियो । कोरोना संक्रमित ओली पार्टीकाे भ्रातृ संगठन युवा संघले बुधबार (माघ १२ गते) आयोजना गरेको रक्तदान कार्यक्रममा पुगेका हुन् ।
युवा संघले बुधबार भक्तपुर बालकोटस्थितमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रममा ओलीको पूर्णकदको तस्बिरसहितको ब्यानरमा 'शीघ्र स्वास्थ्यलाभको कामना श्रद्धेय अध्यक्ष केपी शर्मा ओली' लेखिएको थियो । रक्तदान कार्यक्रम ओलीको स्वास्थ्यलाभको कामना गर्दै साताव्यापी रुपमा देशभरी गर्ने बताइएको छ । कार्यक्रममा पुगेका ओलीले आफूलाई कोरोना संक्रमण भएको पनि बताएका थिए ।
क्यानडा नेपाल नामक युट्युब च्यानलले अपलोड गरेको भिडियोमा ओलीले 'मलाई त रिपोर्टअनुसार छोयो भन्ने छ' भनेका छन् । यस्तै ओली कार्यक्रमस्थल पुग्दा कार्यकर्ताहरूले 'भीड नगर्नुस्' भनेर सहभागीलाई दूरी कायम गरेर बस्न भनिरहेका थिए । भीडबाट 'स्वास्थ्य लाभको कामना छ' भनेर कार्यकर्ताले भनिरहँदा ओलीले 'थ्यांकु सो मच' भन्दै जवाफ फर्काइरहेका थिए । ओलीले 'तपाईंहरू आफै पनि डिस्ट्यान्स मेन्टेन गरेर बस्नुस् न' भन्दा एउटी महिला कार्यकर्ताले 'हामीलाई बा भएपछि केही पनि हुँदैन, हामी स्ट्रोङ छौं' भनिरहेको भिडियोमा सुनिन्छ । कोरोना संक्रमित ओली 'ऊर्जा प्रदान गर्न र सप्ताहव्यापी रक्तदान कार्यक्रममा ऐक्यबद्धता जनाउन' उपस्थित भएको कार्यक्रम सञ्चालकले भनिरहेका थिए ।
कार्यक्रम आयोजक युवा संघका अध्यक्ष किरण पौडेल 'आज हाम्रो अध्यक्ष केपी शर्मा ओली पनि कोरोना संक्रमणबाट ग्रसित भइरहनुभएको छ, कोरोना संक्रमणबाट ग्रसित भइरहँदा त्यसले उहाँलाई गलाउँछ भन्ने हामी कसैलाई विश्वास छैन' भनिरहेका थिए । उनले ओलीलाई कोरोनाको सामान्य संक्रमण भएको भन्दै भाषण गरिरहेका थिए ।
माघ ११ गते एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अध्यक्ष ओलीको स्वास्थ्यबारे जानकारी दिन विज्ञप्ति जारी गरेका थिए । 'अध्यक्ष ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,' विज्ञप्तिमा भनिएको थियो ।
प्रतिकृया दिनुहोस