२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न आयाेगकाे आग्रह

- विशेष खबर मङ्गलबार ११, माघ २०७८ ०३:५९

स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न आयाेगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ  । मंगलबार एक विज्ञप्तिमार्फत आयोगले तत्काल चुनावको मिति तोक्न आग्रह गरेको हो ।

आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत कात्तिक ८ गते भेटेर निर्वाचनका सम्बन्धमा भएका संवैधानिक र कानुनी व्यवस्था बारेमा जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेको छ । आयोगले '२०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने' भन्दै म्याद सकिनु अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने जनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचनबारे आफ्ना पदाधिकारीले १६ राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिसँग छलफल गरेको भन्दै निर्वाचनमा जोड दिइँदै आइएको उल्लेख गरेको छ ।

२०७९ वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयारी अवस्थामा रहेको पनि आयोगले उल्लेख गरेको छ । 'आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ,' आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


प्रतिकृया दिनुहोस