२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

चीनमा उपचार गराएर फर्किएका वर्षमान पुनले विमानस्थलबाटै भने, 'महासचिवमा मेरो स्वाभाविक दाबी'

- विशेष खबर सोमबार १०, माघ २०७८ ०९:३५

चीनमा उपचार गराएर फर्किएका वर्षमान पुनले विमानस्थलबाटै भने, 'महासचिवमा मेरो स्वाभाविक दाबी'

काठमाडाैं । नेकपा माओवादी केन्दका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् ।

चीनमा स्वास्थ्योपचार गरी साेमबार स्वदेश फर्किएका नेता पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै यस्ताे बताएका हुन् । उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे । 'सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वासछ, पार्टीले सहमतिमै टुंगो लगाउनेछ,' नेता पुनले भने ।

नेता पुनले वर्तमान सत्ता गठबन्धनकाे वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए पनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए। पूर्वमन्त्री समेत रहेका पुनले भने,'प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेकोछ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् । लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।' 

नेता पुनले पूर्णरुपमा स्वस्थ्य भएको बताउँदै आफ्नो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन्। विमानस्थलमा नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले उनकाे स्वागत गरेका थिए । करिब चार महिनाको उपचारपछि साेमबार हिमालयन एयरलाइन्सको कार्गाे विमानबाट नेता पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्केका हुन् ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका हुन् । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन  उपचार गरियो । यसअघि उहाँको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

गत महिना भएकाे माअाेवादी केन्द्रकाे सम्मेलनले अध्यक्षसहित सदस्यहरू चयन गरेकाे थियाे । महासचिवका दाबेदार रहेका पुन अनुपस्थति हुँदा त्यतिबेला अन्य पदाधिकारी चयन भएका थिएनन् । महासचिवमा अर्का नेता तथा अर्थमन्त्री जनादर्न शर्माकाे पनि दाबी छ । 


प्रतिकृया दिनुहोस