२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

तीनै तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्रीकाे निर्देशन

- विशेष खबर शुक्रबार ०७, माघ २०७८ ०५:२३

तीनै तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार देशबासीको नाममा सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले ६ महिनाको अवधिमा गरेका कार्यप्रगतिबारे जानकारी दिँदै देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गरेका हुन् । ‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु,' प्रधानमन्त्री भएपछि शुक्रबार पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने । 

प्रधानमन्त्री देउवाले सरकारमाथि एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेको बताउँदै निर्वाचनको पूर्वतयारीका आवश्यक कामहरू सम्पन्न गर्न सबैलाई आग्रहसमेत गरेका छन् । उनले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने पनि बताएका छन् । संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुर्‍याउने उनले बताए । प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने, संघीयता कार्यान्वयन गर्ने एवम् प्रदेश र स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । देउवाले मुलुकको आर्थिक क्रियाकलापमा आफ्नो सरकार बनेपछि उल्लेख्य सुधार भएको पनि बताएका छन् । ‘मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार र सामाजिक क्रियाकलापमा समेत उल्लेख्य सुधार भएको छ,’ देउवाले भने । 

आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोराेनाविरुद्धको खोपकाे पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्रा दिएको बताए । उनले १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनतामध्ये ६५ प्रतिशतलाई पूर्ण खोप लगाइएको जानकारी दिए । प्रधानमन्त्री देउवाले पुस मसान्तसम्म १ करोड ५६ लाख ६ हजार २१ लाई एउटा मात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ लाई खोपको पूर्ण मात्रा दिइएको बताए । उनले यो अवधिमा सरकारले ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९९५ खोप वितरण गरिएको बताए ।

यसैगरी उनले सरकारी अस्पतालको सेवा र पूर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको बताए । अक्सिजनको पर्याप्त आपुर्ति तथा भण्डारण र जनशक्तिको व्यवस्थापनमा समेत सुधार गरिएको प्रधानमन्त्री देउवाले बताए ।


प्रतिकृया दिनुहोस