२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनमा सिट बाँडफाँड

- विशेष खबर सोमबार १९, पुष २०७८ ०२:०८

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनमा  सिट बाँडफाँड

काठमाडौं । सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । सोमबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँडमा सहमति जुटाएको हो ।

कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ । मनोनीततर्फ एक जनामा भने कसलाई पठाउने भन्नेबारे सहमति भएको छैन।

राष्ट्रिय सभामा ५९ सदस्य मध्ये पहिलाे दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्काे दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ ।

ती १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् ।

यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको छ ।


प्रतिकृया दिनुहोस