२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

- विशेष खबर बिहिबार ०१, पुष २०७८ ०३:३४

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।

गगन थापाले सबैभन्दा बढी ३,०२३ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्माले १,९८४ मतसहित महामन्त्रीमा निर्वाचित  भएका छन् ।

महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

यसैबीच मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै उनले राजीनामाको घोषणा गरेका हुन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको थियो ।


#गगन थापा #विश्वप्रकाश शर्मा

प्रतिकृया दिनुहोस