सोमबार ०६, मङि्सर २०७८ १२:३६
काठमाडाैं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ ।
मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मङ्सिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।
कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते अर्थात् आजका लागि निर्धारण गरिएको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको चाैधाैं महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ ।
एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको समितिका तेजबहादुर रावलले जानकारी दिए । क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये सर्लाहीमा मात्र वडा अधिवेशन प्रारम्भ हुन बाँकी रहेको समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस