२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारकाे आग्रह

- विशेष खबर आइतबार २८, कार्तिक २०७८ ०७:२३

प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारकाे आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलासहरूमा नबस्न आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशहरूलाई पत्र पठाएको छ । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको नेपाल बारले विवादित प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न आग्रह गर्दै पत्र पठाएको हो ।

सर्वोच्च अदालतका एक जना न्यायाधीशले त्यस्तो पत्र आएको पुष्टि गरे । ‘अब कसरी अगाडि बढ्ने भन्नेबारे हामी न्यायाधीशहरू आज (आइतबार) दिउँसो छलफलमा थियौं । त्यहाँ बारबाट सबै न्यायाधीशलाई पत्र आएको जानकारी दिइयो । हामीले त्यसबारे पनि छलफल गर्‍यौं,’ ती न्यायाधीशले भने ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि बारले सबै न्यायाधीशलाई पत्र पठाएको बताए । ‘भ्रष्ट र बिचौलियाका नाइके भनेर हामीले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छौं । बारको आन्दोलनमा गुण्डा परिचालन गरेर हतोत्साहित बनाइरहेका छन् । त्यस्ता व्यक्तिले तोकेको इजलासमा नबस्नु भनेर हामीले सबै न्यायाधीशलाई भनेका छौं,’ श्रेष्ठले भने ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू कात्तिक ९ गतेदेखि इजलास गएका छैनन् । उनीहरूले बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र हेरिरहेका छन् । नेपाल बारले पनि १४ कात्तिकदेखि हातमा कालोपट्टी बाँधेर हरेक दिन विरोध प्रदर्शन गरिरहेको छ ।

आइतबारदेखि देशैभरका बार ईकाईहरूमा विरोध प्रदर्शन गरिरहेको बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएर प्रधानन्यायाधीश जबरालाई अदालत छिर्नबाट रोक्ने प्रयास गरिरहेको छ । इकान्तिपुर


#नेपाल बार एसोसिएसन #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस