२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

विश्वासकाे मत लिँदै वाग्मतीका मुख्यमन्त्री पाण्डे

- विशेष खबर सोमबार २२, कार्तिक २०७८ ०८:११

विश्वासकाे मत लिँदै वाग्मतीका मुख्यमन्त्री पाण्डे

हेटाैँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार विश्वासको मत लिने भएका छन् । कात्तिक ११ गते चारदलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा सचिवालयले पनि विश्वासको मत विभाजन गर्न आन्तरिक तयारी पूरा गरिसकेको छ । प्रदेशसभामा मत विभाजन गर्न छुट्टाछुट्टै लवी बनाइएको सचिवालयले जनाएको छ ।

सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले विश्वासको मत लिन मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रदेशसभामा आधिकारिक पत्र कात्तिक १२ गते दर्ता गराइएको जानकारी दिए । उनका अनुसार सरकारले गठबन्धनमा भएको सहमतिअनुसार विश्वासको मत लिन लागेको हो ।

‘प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीअनुसार हामी ढिलाइ नगरी विश्वासको मत लिने निष्कर्षमा पुगेका हौं,’ उनले भने, ‘गठबन्धनको आन्तरिक छलफलका क्रममा तिहार अगाडि नै विश्वासको मत लिने तयारी भएको थियो । तर, सभामुख हेटौंडा बाहिर रहेको र प्रदेशसभाको आफ्नै कार्यक्रमले केही समय ढिलो भएको हो ।’

संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ । हालको अवस्थामा पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सभामुखसहित प्रदेशसभामा १०९ मत छ । सरकार टिकाउन ५५ मत भए पुग्छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत छ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीसँग १ मत छ ।


#वाग्मती प्रदेश #प्रदेशसभा सचिवालय

प्रतिकृया दिनुहोस