२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

काे हुन् कर्णालीका मुख्यमन्त्री शाही

- रासस बुधबार १७, कार्तिक २०७८ ०८:१०

काे हुन् कर्णालीका मुख्यमन्त्री शाही

कर्णाली । दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा कांग्रेसले भने एक सिट मात्र जित्यो । त्यो जितको खाता पनि शाहीले नै खाेले ।

हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट विजयी नेता शाही समानुपातिक पाँच सांसदको नेतृत्व गर्दै पार्टीको संसदीय दलको नेता रहँदा उनका लागि मुख्यमन्त्री पद एक किसीमले भन्नुपर्दा सम्भावनाको दूरीबाट टाढै थियो । 

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई लिएर सर्वोच्च अदालतले ती दललाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रदेशको अकं गणितमा पनि फेरबदल आयो । माओवादी र एमाले अलग–अलग भए पनि एमालेभित्रको विवाद झनै बल्झियो । कर्णाली प्रदेशसभामा एकल बहुमतमा रहेको एमाले अन्ततः विभाजन भई १३ सिटमा खुम्चियो । एमाले र माओवादी केन्द्रको टकरावले प्रदेशसभामा ६ सिट रहेको कांग्रेस अन्ततः निर्णायक बन्न पुग्यो । नेता जीवनबहादुर शाही मङ्गलबार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) का प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । 

एमालेभित्रको अन्तरसङ्घर्ष विभाजनसम्म आइपुग्दा कर्णालीमा एमालेकोे एकल बहुमत मात्रै गुमेन, प्रतिनिधिसभाको दोस्रोपटक विघटनपछि केन्द्रीय राजनीतिमा बनेको एमालेइतर दलको गठबन्धनका कारण कर्णालीको सत्ता सम्हाल्ने जिम्मेवारी कांग्रेस नेता शाहीको काँधमा आइपुग्यो । पार्टी पूर्ववत् अवस्थामा फर्केपछि एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थाल्यो । समर्थन फिर्तापछि यही वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका असन्तुष्ट चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि उनको पद जोगियो । त्यतिबेलै माओवादी केन्द्र, कांगे्रस र एमालेका असन्तुष्ट सांसदबीच ६ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति जुटेको थियो ।  

तीन वर्ष आठ महिना प्रदेश सरकारको नेतृत्व गरेर सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले आफूले विश्वासको मत लिनुअघि वैशाख २ गते भएको सहमतिअनुसार कांग्रेसलाई पद हस्तान्तरण गर्न सहजै तयार भए। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका गरी २१ सांसदको समर्थनमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शाही कर्णालीको दोस्रो मुख्यमन्त्री बन्न सफल भए । 

विसं २०२१ फागुन २० गते हुम्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तर्गत खर्पेल गाउँमा बाबु मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका शाहीसँग केन्द्र सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी तथा सरसफाइमन्त्रीका रुपमा काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका उनले विद्यालय शिक्षा भने काठमाडौँको बूढानीलकण्ठ स्कुलबाट पूरा गरेका थिए । उनले अमेरिका, बेलायत, भारत, चीन, जापानलगायत ३० भन्दा बढी मुलुकको भ्रमण समेत गरेका छन् । 

नवनियुक्त मुख्यमन्त्री शाहीको राजनीतिक यात्रा भने २०४६ सालबाट सुरु भएको हो । प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने क्रममा केही समय भूमिगत भए । त्यस्तै विसं २०६२÷६३ को जनआन्दोलनमा तीन महिना जेल बिताए । २०४६ देखि २०६२ सालसम्म हुम्ला कांग्रेसको सभापति, जिल्ला विकास समिति हुम्लाको सभापति, तत्कालीन कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, नेपाली कांग्रेसको १२ र १३औँ महाधिवेशनबाट केन्द्रीय समिति सदस्य निर्वाचित भएका थिए । पार्टी कामकै सिलसिलामा उनले विसं २०६८ देखि २०७२ सम्म महाकाली इञ्चार्जका रुपमा जिम्मेवारी पूरा गरे ।  

अध्ययनशील छवि र प्रखर स्वभावका मुख्यमन्त्री शाहीले संयुक्त राज्य अमेरिकाबाट पाइलटको तालिम लिए पनि उनले विमान उडानतर्फ भने चासो दिएनन् । अति विकट कर्णाली र त्यसमा पनि विकट हुम्ला जिल्लालाई कुशल राजनीतिज्ञ बनेर विकासको गोरेटोमा डो¥याउने सङ्कल्पका साथ नेपाल फर्केर यात्रा मोडे । कर्णालीलाई राजनीतिक कार्यथलो बनाउँदै गर्दा उनले सामाजिक क्षेत्रमा समेत थुपै्र काम गरेका छन् । स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्ला, सामुदायिक रेडियो कैलाश एफएम, नेपाल रेडक्रस सोसाइटी, द रेयुकाई नेपाल हुम्लाको संस्थापक अध्यक्ष भएर उनले सामाजिक जिम्मेवारी पूरा गरेको अनुभव छ । 

प्रदेशसभा बैठकमा कर्णालीको विकासका लागि ६ ‘ब’ मा जोड दिने नेता शाहीले मङ्गलबार राति पदबहालीका क्रममा पनि सोही अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनका अनुसार ६ ‘ब’ भनेको बाटो, बिजुली, बजार, वन, व्यस्थापन र विचार हो । “कर्णालीको विकासका लागि बाटो, बिजुली र बजार मात्र भएर हुँदैन, कर्णालीवासीको विद्यमान सोच–विचारमा पनि परिवर्तन आउन जरुरी छ,” उनले भने, “भौतिक विकाससँगै गलत मानसिकतामा सुधार ल्याउन सके, कर्णालीको विकासको बाधक नकारात्मक सोच पनि हो ।”


#कर्णाली #जीवन शाही

प्रतिकृया दिनुहोस