२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

फेरि सर्‍यो कांग्रेस महाधिवेशन तालिका

बुधबार १०, कार्तिक २०७८ ०७:११

फेरि सर्‍यो कांग्रेस महाधिवेशन तालिका

काठमाडाैं । नेपाली कांग्रेसकाे १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । 

मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए ।  

वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । निर्वाचन समितिका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन हुने छ । ६४ जिल्लामा यसअघिनै महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ ।

सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहटको  क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । 

मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने निर्वाचन समितिले जनाएकाे छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।  

यसअघि कांग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारेकाे थियो । क्रियाशील सदस्यता विवादकाे कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय गरेकाे थियाे । 

सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि मंसिर २७ देखि २९ गतेका लागि सारेको छ ।


प्रतिकृया दिनुहोस