२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

करिब ६ हजार वडामा एमाले अधिवेशन सम्पन्न

शनिबार ०६, कार्तिक २०७८ ०८:४०

करिब ६ हजार वडामा एमाले अधिवेशन सम्पन्न

काठमाडाैं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराेका कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार थालिएको जानकारी दिए । 

'करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्यांकन रहेको छ,' उनले भने, 'हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।' 

वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । 

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि ६ हजार ७४३ वडा रहेका छन् । उनले बाढी, पहिराेका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए । देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । 

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ ।

एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । 


प्रतिकृया दिनुहोस