२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

- विशेष खबर सोमबार ११, असोज २०७८ ०९:३३

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छन् । मन्त्रिपरिषद्को साेमबारकाे बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले उक्त अध्यादेश खारेज गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ । 

सरकारले राजनीतिक दलकाे केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहितको अध्यादेश ल्याएकाे थियाे । भदौ २ गते राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो । दुबै दल विभाजनको प्रक्रिया टुंगिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् विस्तारका लागि अध्यादेश नै बाधक बनेपछि फिर्ता लिने निर्णय भएको हो । अध्यादेश फिर्ताका लागि सत्ता गठबन्धनबाटै प्रधानमन्त्री देउवालाई दबाब परेको थियो । 


प्रतिकृया दिनुहोस