२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

एमालेमा ७० वर्ष उमेर हदको प्रस्ताव, अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने

- विशेष खबर सोमबार ०४, असोज २०७८ ०७:४३

एमालेमा ७० वर्ष उमेर हदको प्रस्ताव, अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने

काठमाडौं । नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ । 

पार्टीभित्र असन्तुष्टि बढेपछि आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले प्रस्ताव गरेको विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो ।

यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो । त्यसको पार्टीभित्रै आलोचना भएपछि संगठन विभागले पूर्ववत व्यवस्थालाई निरन्तरता दिने खालको प्रस्ताव गरेको हो । कार्यकारी पदमा निर्वाचित हुनका लागि ७० वर्षे उमेरहदको व्यवस्था कायम राखिएको छ ।

७० वर्षे उमेर हद कायम राख्ने पार्टीको प्रस्तावित विधानले एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुने र नयाँ पुस्तालाई ढोका खुला गर्ने देखिएको छ । ७० वर्षे उमेर हदको व्यवस्थालाई आगामी १० औं महाधिवेशनमा निरन्तरता दिँदा केपी ओलीलाई अध्यक्षमा दोहोरिन कठिनाइ हुनेछैन । तर त्यसपछिकाे महाधिवेशनसम्म ओलीपछिका धेरै नेता केन्द्रीय राजनीतिबाट बाहिरिनेछन् । ओली अहिले ७० औं वर्षमा छन् । प्रस्तावित विधानअनुसार तोकिएकै समय (मंसिर) १० औं महाधिवेशन भयो भने उनी अझै एक कार्यकालका लागि उम्मेदवार हुन सक्छन् ।

अध्यक्षमा ओली दोहोरिने भए भने हालका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत नेताहरू आगामी कार्यकालमात्रै कार्यकारी कमिटीमा रहनेछन् । उनीहरू ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार वा कार्यकारी कमिटीमा रहने छैनन् । 

एमालेमा सत्तरी वर्षे उमेर हदलाई लिएर नेताहरूको विरोध छैन तर यसले मुख्य नेतृत्वमा पुग्ने धेरै नेताको सपना पूरा नहुने भएकाले उनीहरूको असन्तुष्टि भने देखिएको छ ।


प्रतिकृया दिनुहोस