२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघकाे माग

शुक्रबार ०१, असोज २०७८ ०२:२७

सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघकाे माग

काठमाडाैं । नेपाल पत्रकार महासंघले गण्डकी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई फिर्ता लिन माग गरेको छ ।

प्रस्तावित विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविपरीत रहेको जनाउँदै महासंघले तत्काल विधेयकलाई अगाडि नबढाउन प्रदेश सरकारसँग आग्रह  गरेको हो ।

महासंघले विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेको जनाउँदै विधेयक संसद्बाट तत्काल फिर्ता गरी महासंघसहित सरोकारवालाको सहभागितामा व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रतामैत्री हुने गरी पुनर्लेखन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएको हो । 

'महासंघले विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको जनाउँदै त्यसप्रति गम्भीर असहमति राख्दै आएको थियो । त्यसलाई बेवास्ता गर्दै प्रदेश सरकारले विधेयकलाई संसद्मा दर्ता गरिनु अत्यन्त दुःखद् पक्ष हो । यो कार्यले प्रदेश सरकार प्रेसप्रति उदार नभई प्रेसलाई नियन्त्रण र अङ्कुश लगाउन उद्धृत रहेको स्पष्ट छ,' महासंघद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा महासंघको असहमति रहेका बुँदालाई यसअघि पनि अन्य प्रदेश सरकारबाट संसदमा दर्ता भएपछि महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाले पनि तत्काल विधेयक फिर्ताको माग गरिरहँदा सरकारका जिम्मेवार निकायमा बस्नेले विधेयकका पक्षमा गरेको वकालतलाई महासंघले गम्भीररूपमा लिएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'प्रदेश सरकारले दर्ता गराएको विधेयकमा प्रेसलाई नियन्त्रण गर्ने, प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने, दर्ता खारेजीलगायत पत्रकारलाई जेल सजायजस्ता प्रेसविरोधी प्रावधान रहेकाले यो विधेयक आपत्तिजनक हुनुका साथै संविधानको मर्म र भावनाविपरीत रहेको महासङ्घ ठहर छ ।'
 


प्रतिकृया दिनुहोस