२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

सोमबार २८, भदौ २०७८ ०७:५३

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

पर्वत । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।

विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । 

छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन् । उनले भने, 'घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छाैं,' विष्णुमायाले भक्कानिँदै भनिन् ।

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ थियो । अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत्विपत् परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन् ।

काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए । चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ ।

सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उनले बताउनुभयो । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् । 

कुश्मामा असोज १ गतेदेखि विद्यालय खुल्ने

 कुश्मा नगरपालिकाले सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुन थालेपछि आइतबार बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले आगामी असोज १ गतेबाट सबै विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए। 

नगरपालिकामा सङ्क्रमणको दोस्रो लहरपश्चात् वैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन रोकिएको थियो । केही विद्यालयले अनलाइनमार्फत पढाइ सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले इन्टरनेटको असुविधाका कारण अनलाइन कक्षा सञ्चालन गर्न सकेका थिएनन् । 

विद्यालयलाई अनिवार्यरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरिएको नगरप्रमुख जोशीले बताए ।नगरपालिकाभित्र ६७ सामुदायिक र १४ संस्थागत विद्यालयमा करिब नौ हजार विद्यार्थी अध्ययनरत छन् ।  मोदी, विहादी, महाशिला र पैंयुमा यसअघि नै भौतिक उपस्थितिमा विद्यालय खुलिसकेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरिएको थियो । -(रासस)


प्रतिकृया दिनुहोस