२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन, पालिकामा असोज ९ गते

शुक्रबार २५, भदौ २०७८ ०९:४३

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन, पालिकामा असोज ९ गते

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो । 

पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता नामावली समितिलाई हालसम्म प्राप्त नभएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ/नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ । त्यस्तै गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उनले बताए । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ ।
 
प्रदेश र केन्द्रको अधिवेशनको मिति भने यथावत छ । कांग्रेसले यस अघि नै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ । 


प्रतिकृया दिनुहोस