२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

संसद् अधिवेशन आजबाट, बजेटसहितका १५ अध्यादेश टेबल गर्ने कार्यसूचि

- विशेष खबर बुधबार २३, भदौ २०७८ ०७:१८

संसद् अधिवेशन आजबाट, बजेटसहितका १५ अध्यादेश टेबल गर्ने कार्यसूचि

काठमाडौँ । संघीय संसद्को नवौं अधिवेशन बुधबारदेखि सुरू हुँदैछ । याे अधिवेशन सरकारले यसअघि दर्ता गरेका १५ वटा अध्यादेशमा केन्द्रित हुने भएको छ ।

संसद् सचिवालयले अधिवेशनको पहिलो दिन नै बजेटसहितका १५ अध्यादेश स्वीकृत गर्ने प्रस्तावलाई सम्भावित कार्यसूचीमा राखेको छ ।

संसद्को आठौं अधिवेशन सुरु भएको पहिलो दिन साउन ३ मा यी अध्यादेश सदनमा दर्ता पेस गरिए पनि सरकारले अघि बढाउन चाहेन । भदौ ३० सम्म निर्णय नगरिए यी अध्यादेश स्वतः खारेज हुने भएपछि अघि बढाउन सरकारले अधिवेशन बोलाएको हो ।

अधिवेशनको पहिलो दिनमै यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन गर्न सहज हुने राजनीतिक दलसम्बन्धी अध्यादेशलाई टेबल गर्ने सरकारको योजनाअनुसार संसद् सचिवालयले सम्भावित कार्यसूची मंगलबार सार्वजनिक गरेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गर्दा एमालेको अवरोध हुन सक्ने सचिवालयले आकलन गरेको छ । बैठकको कार्यसूचीअनुसार बुधबारको बैठक अघि बढे १५ वटा अध्यादेश स्वीकार वा अस्वीकार हुनेछ ।

अध्यादेशलाई संसद्ले स्वीकार गरे सरकारले प्रतिस्थापन विधेयक संसद्मा पेस गर्ने बाटो खुल्छ । संसद्ले अस्वीकार गरे अध्यादेश स्वतः खारेज भएको मानिन्छ । राजनीतिक दलसम्बन्धीबाहेकका अध्यादेश केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको थियो ।

सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत नराखी बैठकको कार्यसूची सार्वजनिक गरेका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले भने बुधबार बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।  

प्रतिनिधिसभाको बुधबारको कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने भनिएको छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ । एमालेसँग छलफलबिनै दल टुक्र्याउने अध्यादेश टेबल गरे संसद् अवरोध हुने संसद् सचिवालयले आकलन गरेको छ ।


प्रतिकृया दिनुहोस