२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

प्रधानमन्त्री देउवाको महेश बस्नेतलाई जवाफ : 'दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्'

- विशेष खबर शुक्रबार १८, भदौ २०७८ ०१:४७

प्रधानमन्त्री देउवाको महेश बस्नेतलाई जवाफ : 'दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्'

काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा शुक्रबार वडा अधिवेशनको उद्घाटन गर्दै देउवाले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् ।

कटुञ्जे एमाले नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो । देउवाले बस्नेतकै क्षेत्रमा पुगेर कांग्रेसलाई हराएर देखाउन चुनौती दिएका छन् ।

बस्नेतले गत भदौ पहिलो साता भक्तपुरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा चुनाव जित्ने अभिव्यक्ति दिएका थिए । देउवाले बस्नेतकै गृहनगरमा पुगेर शुक्रबार जवाफ फर्काएका हुन् । ‘बस्नेतजीले मलाई हराउनु पर्दैन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई मात्रै हराए हुन्छ । दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्,’ देउवाले भने । आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको पनि देउवाले बताएका छन् ।

देउवाले महामारी बढ्दो क्रममा रहेकाले आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राख्न आग्रह गरेका छन् । ‘मास्क लगाउनुस् । सामाजिक दूरी कायम गर्नुहोस् । कोरोनाको बेला छ, आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर महाधिवेशनमा सहभागी बन्नुस्,’ देउवाले भने ।  

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार ५६ जिल्लामा वडातहको अधिवेशन सुरु भइरहेकाे छ । भक्तपुरमा पनि शुक्रबारबाटै अधिवेशन सुरु भएको छ ।  


प्रतिकृया दिनुहोस