२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

हवाई उडानमा जेठ २ सम्म प्रतिबन्ध, लकडाउनबारे भाेलि निर्णय हुने

शनिबार १३, बैशाख २०७७ ०४:१८

हवाई उडानमा जेठ २ सम्म प्रतिबन्ध, लकडाउनबारे भाेलि निर्णय हुने

काठमाडाैं । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा शनिबार बसेको सो  बैठकले उक्त निर्णय गरेको सचिव नारायणप्रसाद बिडारीले सञ्चारकर्मीलाई जानकारी दिए ।

कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले यही वैशाख  १८ गते (अप्रिल ३०) सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडाउन स्थगित गर्ने निर्णय गरेको थियो ।  

कोभिड–१९ को जोखिमका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) का समयमा हालसम्म भएगरेका कामको समीक्षा गर्दै बैठकले लकडाउन सही ‘ट्र्याक’मा रहेको निष्कर्ष निकालेको छ ।

समितिले लकडाउनका लागि चालिएका कदम ठीक दिशातर्फ उन्मुख रहेको निचोड रहेको बताउँदै सचिव बिडारीले लकडाउन कसरी अघि बढ्छ भन्नेबारे सरकारबाट छिट्टै निर्णय आउने जानकारी दिए ।

छिमेकी मुलुकमा भइरहेको सङ्क्रमणको अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिलाई विचार गरेर मात्र लकडाउनसम्बन्धी चालिने कदमबारे निर्णयमा पुग्न उचित हुने समितिको ठहर छ । कोभिड–१९ को जोखिमपछि सरकारले घोषणा गरेको लकडाउन भएको आज एक महिना दुई दिन भएको छ ।

बैठकमा हालसम्मका लकडाउनकोे प्रभावकारिता, कार्यान्वयन र सफलताका विभिन्न पाटा पक्षबाट समीक्षा गर्दै यस कार्यमा महत्वपूर्ण योगदान पुर्याउने चिकित्सक, नर्स, सुरक्षाकर्मीलगायत सबै सरोकारवाला निकाय र अधिकारीलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।

समितिमा विभिन्न पाटोबाट लकडाउनको विश्लेषण भएको र मन्त्रिपरिषद्को आगामी बैठकबाट लकडाउनबारे निर्णय हुने सचिव बिडारीले जानकारी दिए ।

समिति लकडाउनको पाटोमा अझै समीक्षा र विचार गरेर आवश्यकतानुरुप निर्णय गर्दै अघि बढ्ने छ । 'उपचारका क्रममा ट्रेस, ट्र्याकिङ र ट्रिटमेन्ट गर्नेलगायत विषयलाई अझै प्रभावकारी तुल्याउने भन्ने भएको छ,' उनले भने ।

सबै प्रदेशमा अहिले औषधि र औषधिजन्य सामग्रीको  आपूर्ति उपलब्धता सहज अवस्थामा रहेकाले कुनै पनि अभाव नरहेको र आवश्यकतानुरुप सामग्री पुर्याउन सक्ने अवस्थामा भएको समितिको बुझाइ छ ।


#लकडाउन

प्रतिकृया दिनुहोस