२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको सनाखत सकियो

- विशेष खबर बुधबार ०९, भदौ २०७८ ०४:३३

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको सनाखत सकियो

काठमाडौँ । नेकपा (एमाले)बाट विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा सनाखत गर्ने क्रम सकिएको छ । 

निर्वाचन आयोगले नयाँ गठन हुने लागेका दुवै दलका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो । निर्धारित समयमा दुवै दलका केन्द्रीय सदस्य र संघीय सांसदको सनाखत गर्ने प्रक्रिया सकिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य ५४ र संघीय संसद्का २९ सदस्यको सनाखत भएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका १६ केन्द्रीय कार्यकारिणी समिति सदस्य र १४ संघीय सांसदले सनाखत गरेका छन् ।

दुवै दललाई प्रमाणपत्र प्रदान गर्ने विषयमा आयोग छलफलमा रहेको श्रेष्ठले जानकारी दिए । दुवै दललाई सकेसम्म बुधबार नै दल दर्ताको प्रमाणपत्र दिने तयारीमा आयोग रहेको उनको भनाइ थियो ।

एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दलको तर्फबाट सनाखत र अन्य कानुनी प्रक्रिया पूरा गरिएको र अब आयोगबाट प्रमाणपत्रको पर्खाइ रहेको बताए । दल दर्ताको प्रमाण पत्र लिनका लागि आफूहरू आयोगमा नै पर्खिएको र आयोगका प्रमुख आयुक्त र अन्य अधिकारीले सम्भवतः आजै प्रमाणपत्र दिने गरी काम अगाडि बढाइएको उनले जानकारी दिए ।

अध्यादेशमा गरिएको व्यवस्थाअनुसार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिन्छ । सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्‍याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । त्यस्तै, जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएपछि महन्थ ठाकुरले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका हुन् ।


प्रतिकृया दिनुहोस