२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

- विशेष खबर बुधबार २७, साउन २०७८ ०२:०८

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

बुटवल । लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल अगाडि बढाइएको छ । केही बेरअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेश प्रमुख कार्यालयबाट पत्र नआएकाले नियमित प्रक्रिया अघि बढाइएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभालाई जानकारी दिएका थिए ।

प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थिए ।

अहिले विपक्षी दलका नेताहरुले उक्त प्रस्तावमाथि बोलिरहेका छन् । प्रदेशसभामा एमालेका सांसद भने उपस्थित छैनन् । मुख्यमन्त्रीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रदेशसभा बैठक २ : ४५ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख घर्तीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेशसभामा जानकारी नभएकाले विशेष अधिवेशनको पूर्वनिरर्धारित तालिकाअनुसार अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको बताए । प्रदेश प्रमुखले पहिल्यै नै मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका लागि समय र मिति नै तोकेर विशेष अधिवेशन डाकेकाले नियमित प्रक्रियाका रुपमा निरन्तरता दिइएको उनले बताए ।

सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशप्रमुख शेरचनले संविधानविपरीत विशेष अधिवेशन आह्वान गरेको भन्दै प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले अधिवेशन फिर्ताको माग राखी सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका छन् । मंगलबार हेर्न नभ्याइनेमा परेको उक्त रिट बुधबार पनि पेसीको आठौं नम्बरमा रहेकाले अधिवेशन स्थगित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् । यसअघि पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाहीमा परेका जसपाका तीन मन्त्रीमध्ये भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेयले पनि मंगलबार बेलुकी राजीनामा दिएका थिए ।


#लुम्बिनी प्रदेश #शंकर पोखरेल #अविश्वास प्रस्ताव

प्रतिकृया दिनुहोस