२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

एमाले नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक जारी, बिहीबार के-के भयाे ?

बिहिबार २१, साउन २०७८ १०:३९

एमाले नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक जारी, बिहीबार के-के भयाे ?

काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बिहीबारदेखि काठमाडौँमा शुरु भएको छ । 

बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ । बैठक बस्नु अघि सोही पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठक पनि बसेको थियो ।

काठमाडौँको बुद्धनगरमा ७० भन्दा बढी सदस्य सहभागी बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिए । 

नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ ।

उनका अनुसार बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राखेकाे र त्यसपछि उपाध्यक्ष भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए । त्यसपछि केन्द्रीय सदस्यबाट भनाइ राख्ने क्रम जारी छ । 

नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषमया नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिए।  

उनले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्वपूर्ण शर्त रहेको उल्लेख गरे । नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गरे ।

यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो । बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो । - (रासस)


प्रतिकृया दिनुहोस