२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

पार्टीभित्र विवाद हुँदा प्रतिनिधिसभा विघटन गरिनु लोकतान्त्रिक संस्कार हाेइन् : दाहाल

- विशेष खबर आइतबार ०३, साउन २०७८ ०८:५२

पार्टीभित्र विवाद हुँदा  प्रतिनिधिसभा विघटन गरिनु लोकतान्त्रिक संस्कार हाेइन् : दाहाल
तस्बिरः रासस ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावमा समर्थन जनाउँदै उनले मनोगत, अहंकार र व्यक्तिवादी गतिविधि आफूहरूलाई स्वीकार्य नहुने धारणा व्यक्त गरे ।

निरंकुशताविरुद्धको आन्दोलन दलहरू मिलेर गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले एक वर्षका बीचमा प्रतिनिधिसभाको विघटन र सर्वोच्च अदालतबाट पुन:स्थापनाका घटना नेपालको इतिहासमा नभएको बताए ।

राजनीतिक स्थिरताका लागि वाम गठबन्धन हुँदै दुई तिहाइको सरकार बनाउने र पार्टी एकताको पहलकर्ताले पटकपटक संसद् विघटन भएको देख्नु दुखद् भएको उनले बताए । अध्यक्ष दाहालले बारम्बार संविधान र लोकतन्त्रलाई मिच्ने कोसिस भएकाले नयाँ सत्ता गठबन्धन निर्माण गर्नुपरेको अवगत गराए ।

उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देउवाको शपथग्रहण समारोह र आजको सदनको बैठकमा सम्बोधन गर्न नआउनु भएकामा आफूलाई अस्वाभाविक लागेको टिप्पणी गरे । विगतका अनुभवका आधारमा जतिखेर पनि सदन विघटन गर्न नपाइने व्यवस्थाका लागि संविधान निर्माणका बेला बहस गरिएको स्मरण गराउँदै दाहालले संविधानको ७६ (५) प्रतिनिधिसभाको विशेषाधिकार भएको स्पष्ट गरे । उनले भने, 'यस धारामा कुनै पनि दलका सांसदले बहुमत सिद्ध गर्ने सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने भनिएको छ । यो सांसदले विवेक प्रयोग गर्ने धारा हो, सर्वोच्च अदालतले त्यही व्याख्या गरेर संविधान र प्रतिनिधिसभा बचाएर गलत बाटोमा लानबाट रोकिएको छ ।'


#प्रचण्ड

प्रतिकृया दिनुहोस