२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपामा स्थायी कमिटी बैठक माग, ओली-दाहाललाई २० नेताकाे पत्र

बुधबार १०, बैशाख २०७७ ०९:३१

नेकपामा  स्थायी कमिटी बैठक माग, ओली-दाहाललाई २० नेताकाे पत्र

काठमाडौं। सरकारले ल्याएका अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गर्न स्थायी कमिटिको बैठक माग गर्दै नेकपाका २० स्थायी कमिटि सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र लेखेका छन् । 

बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बैठक बोलाउन माग गर्दै पत्र बुझाएका हुन्।

पत्रमा स्थायीकमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोलप्रसाद गजुरेलले हस्ताक्षर गरेका छन्।

पार्टीमा कुनै छलफल नगरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको र यसले राष्ट्रका सामु उपस्थित मूल समस्या समाधान गर्ने जिम्मेवारीबाट ध्यान अनावश्यक विषयमा अन्यत्र मोडिनसक्ने देखिएको भन्दै छलफलका लागि सदस्यहरुले बैठक माग गरेका हुन्।  सोमबार मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश राष्ट्रपतिले जारी गरेकी थिईन्। 

‘देश र जनता सामु आएको कोरोना भाइरस संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरु तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा असर पार्ने कानुन संशोधन गर्ने अध्यादेश जस्तो संवदेनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनु पर्दछ । यसका लागि स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दछौं,’ पत्रमा लेखिएको छ ।


#नेकपा

प्रतिकृया दिनुहोस