२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

प्रतिनिधिसभा पुन:स्थापित भएपछि के भन्छन् बिपक्षी गठबन्धनका नेता

- विशेष खबर सोमबार २८, असार २०७८ ०३:०८

प्रतिनिधिसभा पुन:स्थापित भएपछि के भन्छन् बिपक्षी गठबन्धनका नेता

काठमाडौं । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।

अदालतले आफ्नो गरिमा बढायो : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्या‍मा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

‘झन्डै मृत्युशय्या‍मा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो,’ को कुराकानी गर्दै नेपालले भने, ‘सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ ।’

नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताए । ‘अदालतले संविधानको रक्षा गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भने ।

फैसला नेपाल राष्ट्र र नेपाली जनताको हितमा छः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको सोमबारको फैसला इतिहासमै एक महत्वपूर्ण परिघटनाका रुपमा रहने बताएका छन् । सर्वोच्च अदालतको फैसालपछि कान्तिपुरसँग कुराकानी गर्दै दाहालले अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने बताएका हुन् ।

‘पटकपटकको संसद विघट्न, पटकपटक संविधान, लोकतन्त्रमाथी भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति थियो । त्यसकारण यो जनताको जितको रुपमा अगाडि आएको देख्छु,’ दाहालले भने, ‘यो इतिहासमै महत्वपूर्ण परिघटनाको रुपमा रहने छ र इतिहासले यसलाई सम्मान गर्ने छ ।’

उनले संविधान, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय हितको रक्षाका लागि अदालतको फैसला आवश्यक बनेको बताए । 'अदालतको आजको फैसालले यो सबैलाई रक्षा गरेको छ । त्यसकारण मेरो दल र विपक्षी गठबन्धनको तर्फबाट पनि सर्वोच्चको फैसलालाई स्वागत गर्दछु,' उनले भने ।

अध्यक्ष दाहालले प्रधानन्यायाधीश लगायत सबै न्यायाधीशहरुलाई धन्यवाद दिन चाहेको बताउँदै भने, 'उहाँहरुले संविधान, राष्ट्रको गरिमालाई उचो बनाउनुभयो । र न्यायलयको गरिमालाई पनि उचो बनाउनुभयो । त्यसैले उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।'

लामो संघर्ष गरेर ल्याएको संविधानको रक्षा अदालतले गर्‍योः रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रारम्भिक प्रतिक्रिया दिँदै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै पौडेलले सो फैसला स्वागतयोग्य भएको बताए हुन् ।

‘लामो संघर्ष गरेर ल्याएको संविधानको रक्षा अदालतले गर्‍यो । त्यसका लागि सर्वोच्च अदालतलाई धन्यवाद छ,’ पौडेलले  भने, ‘सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका मेरा मित्र शेरबहादुर देउवालाई पनि बधाई दिन्छु । परिवर्तनगामी, लोकतन्त्रका पक्षधरहरु सबैलाई बधाई छ ।’

सर्वोच्चले गरेको फैसलाले ऐतिहासिक काम गर्याेः यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले ऐतिहासिक काम गरेको बताएका छन्।

'सर्वोच्चले गरेको फैसलाले ऐतिहासिक काम गरेको छ। देश बचाउने संविधान बचाउने लोकतन्त्र बचाउने मुलुकलाई निकास दिने जुन कार्य गरेको छ,'उनले भने,'यो वास्तवमा ऐतिहासिक निर्णय नै हो। ऐतिहासिक कार्य नै हो।'

उनले आफूहरूको गठबन्धन सहमतिकै आधारमा अघि बढ्ने बताए।

'हामी अब सँगै अघि बढ्ने भनेर नै गठबन्धन बनाएको हो। यो एकछिनका लागि र कुनै स्वार्थका लागि बनाइएको गठबन्धन होइन।राष्ट्र,संविधान अनि लोकतन्त्रका लागि बनाइएको गठबन्धन हो,'उनले भने।


#प्रतिनिधिसभा पुन:स्थापित

प्रतिकृया दिनुहोस