२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

टिकटकले बन्द गरिदियो ७३ लाख एकाउन्ट

बिहिबार १७, असार २०७८ ०४:२२

टिकटकले बन्द गरिदियो ७३ लाख एकाउन्ट

एजेन्सी । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ ।

सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् । यो भिडियो प्लाटर्फम त्यसैले किशोरकिशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ । तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता सन्दिग्ध एकाउन्टहरु टिकटकले बन्द गरिदिएको हो ।

टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

टिकटकको रिपोर्टअनुसार सन् २०२१ को पहिलो तीन महिनामा नियम पालना नगरेका ६,१९,५१,३२७ भिडिओहरू हटाइएका छन् । तीमध्ये ८२ प्रतिशत भिडिओ अरूले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन् । विज्ञापन नीति र निर्देशिका पालना नगरेका १,९२,९०० विज्ञापनहरू अस्वीकृत गरिएका छन् । कुल १,११,४५,५१४ अकाउन्टहरू निर्देशिका र प्रयोगका सर्तहरू पालना नगरेका कारण हटाइएका छन् । 

टिकटकले निलम्बित अकाउन्टका बारेमा पहिलो पटक आफ्नो समुदाय निर्देशिका प्रतिवेदनमा सार्वजनिक गरेको हो।

यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सामाजिक सञ्जाल उद्योगलाई सहयोग हुने अपेक्षा गरेको टिकटकले बताएको छ।

टिकटकले किशोर किशोरीलाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।

'बालबालिकालाई सुरक्षित राख्न हामीले गरिरहेका कामहरू सार्वजनिक गर्न यो प्रतिवेदनमा कम उमेरका व्यक्तिहरूको हटाइएको अकाउन्ट सङ्ख्या राखेका हौँ,' टिकटकका सुरक्षा र विश्वास प्रमुख कोर्म्याक कीननले भने।

उक्त चिनियाँ एप किशोर किशोरीमाझ चर्चित भए पनि हालै यसमा कम उमेरका बालबालिका बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

गत वर्ष न्युयोर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो।


प्रतिकृया दिनुहोस