२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

केन्द्रीय गठबन्धनको आडमा प्रदेश सरकार जनविरोधी काम गर्न पाउँदैन : नेता महर

आइतबार १३, असार २०७८ ०५:१७

केन्द्रीय गठबन्धनको आडमा प्रदेश सरकार जनविरोधी काम गर्न पाउँदैन : नेता महर

धनगढी। नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले केन्द्रीय गठबन्धका आडमा सुदूरपश्चिम सरकारलाई जनताको खिलापमा काम गर्ने छुट नभएको बताएका छन्।

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलमा भएका सांसदहरुसंगकाे छलफलमा उनले केन्द्रिय तहमा पाँच दल  बीचको गठबन्धन केपी ओलीको सर्वसत्तावादका खिलाप भए पनि माओवादी नेतृत्वको प्रदेश सरकार यसै गरि अनियमितता र  जनविरोधी कार्य गरिरहे कांग्रेसले काँध नथाप्ने समेत बताए।

उनले सरकारको छद्मभेषी चरित्रका कारण सुदूरपश्चि सरकारसंग मिलेर काम गर्न  कांग्रेसलाई अप्ठेरो भइरहेको बताए । छलफलमा सहभागी सांसदहरुले केन्द्रको गठबन्धनका कारण प्रदेश सरकारले गरेका काम कारवाहीको बारेमा कांग्रेसका प्रदेशसभा सदस्यहरुले विरोध गर्न नसकेको  गुनासो गरेका थिए ।

प्रदेश संसदीय दलमा सांसदहरूसंग भेटघाट गर्दै नेता महरले भने,‘केन्द्रको गठबन्धनको कारण प्रदेशसभामा कांग्रेसले सरकारका अनियमित आचरणको भारी बोक्नु जरुरी छैन ।'  प्रदेश सरकारकाे मनमौजी कार्य नरोकेमा  र  केन्द्रमा आन्दोलनरत पाँच दलीय गठबन्धनले प्रदेश कांग्रेसको  राय नसुने सरकार दुर्घटनामा पर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो पार्टी नजिकका प्राईभेट लिमिटेडलाई यो वर्षको बजेटमा एक करोडदेखि ५ करोडसम्म रकम छुट्याएको बताउँदै उनले सबै मन्त्रालय अन्तर्गत  नीतिगत भ्रष्टाचारको थालनी गरेको कारण वर्तमान प्रदेश सरकारको औचित्य सकिएको महरको भनाई छ । 

नेता महरले अतिवादी चरित्र भएका कम्युनिष्टका कारण मुलुकको प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको बताए । अतिवादी चरित्र भएका, सत्तालिप्सावादी कम्युनिष्टका कारण नेपाली जनताको बलिदान र ठूलो संघर्षबाट प्राप्त प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको उनले बताए ।


प्रतिकृया दिनुहोस