सोमबार २४, जेठ २०७८ ०९:०२
काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न आन्तरिक छलफल अघि बढाएको छ ।
गृह मन्त्रालय विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने र नागरिकको दैनिक जीवनयापन क्रमश: सहज बनाउने गरी समीक्षामा जुटेको हो ।
कोरोनाको दोस्रो लहर बढेसँगै बाँकेमा वैशाख १३ र उपत्यकामा १६ गतेबाट निषेधाज्ञा जारी गरिएकोमा जेठ २३ सम्म आइपुग्दा ७५ जिल्लामा बिस्तार भइसकेको छ ।
अत्यावश्यक भनी तोकिएका र जिल्ला प्रशासनको अनुमतिबाहेकका सबै वस्तु तथा सेवा निषेधाज्ञाका कारण ठप्प छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले खेतीपाती, विकास निर्माण तथा दैनिक उपभोग्य वस्तुको किनबेचमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नागरिकलाई आवागमन सहज हुने गरी निषेधाज्ञा खुकुलो हुनसक्ने बताए ।
यस विषयमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूसँग जिल्लागत वस्तुस्थिति र जोखिमबारे बुझ्ने काम गरिरहेको उनले जानकारी दिए ।
वैशाख १६ पछि सञ्चालनमा रोक लगाइएको राजधानीभित्रका वर्कसप शुक्रबारदेखि राति ९ देखि बिहान ९ बजेसम्म सञ्चालन गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले अनुमति दिइसकेका छन् ।
एक साता खाद्यपसल बन्द गरिएकामा शुक्रबारबाट बिहान ९ बजेसम्म खुला रहने आदेश जारी भइसकेको छ ।
प्रतिकृया दिनुहोस