शनिबार २२, जेठ २०७८ ०९:०३
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ ।
शनिबार साँझ खनाल-नेपाल समूहका स्थायी कमिटि सदस्यहरूले संयुक्त विज्ञप्ति निकाल्दै कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने माग गरेका हुन् ।
विज्ञप्ति जारी गर्नेमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल छन् ।
‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ’ विज्ञप्तिमा छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित 'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो' भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’
यसअघि खनाल–नेपाल समूहकै १८ जनवर्गीय संगठनले संयुक्त विज्ञप्तिमार्फत उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री ओली किन मौन भनेर प्रश्न गरेका छन् ।
शुक्रबार शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उप्रप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य निर्माणको मुक्ति आन्दोलन चलाउने बताएका थिए ।
प्रतिकृया दिनुहोस