२०८२ पुष २७ गते आइतबार | 11 January, 2026

तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र : देउवा

बुधबार १९, जेठ २०७८ ०९:३८

तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  गिट्टी बालुवा निर्यात गरेर व्यापार घाटा कम गर्ने सरकारको नीति तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र भएको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै देउवाले सरकारले बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको बताएका छन् ।

उनले विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको उल्लेख गरेका छन्।

उनले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती मात्र नभई प्रकृतिविरुद्धको अपराध र तराई–मधेसलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र भएकाे बताएका छन् ।

‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन्,’ देउवाले भनेका छन्, ‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन, प्रकृतिविरुद्धको अपराध र देशको तराई मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’

देउवाले चुरे दोहन गरेर ‘ब्यापार घाटा न्यून गर्ने’ नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको उल्लेख गरेका छन् । ‘निश्चय नै देशले बर्षौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन,’ विज्ञप्तिमा छ ।

राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन देउवाले सरकारलाई चेतावनीसमेत दिएका छन् । ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिकृया दिनुहोस