२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

जेठ २ मा फर्किन सहमत भए ओली

शनिबार ०१, जेठ २०७८ १२:२४

जेठ २ मा फर्किन सहमत भए ओली
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सर्वोच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल पक्षधर नेताहरूले पार्टीलाई एकतापूर्वको अवस्थामा ब्युँताउनुपर्ने बताउँदै आएका थिए । एमालेका पुरानो कमिटीको तल्लो तहसम्म नेपालपक्षीय नेताहरूको वर्चस्व रहेकाले पनि उनीहरूले पूर्ववत् पार्टीर् कमिटी ब्युँताउनुपर्ने माग गर्दै आएका हुन् तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी धेरै अघि बढिसकेकाले त्यो सम्भव नहुने बताउँदै आएका थिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफलमा जेठ २ आसपासबाट पार्टीलाई अघि बढाउने सहमति भएपछि नेपाल पक्षका सांसदले दिने भनेको राजीनामा रोकिएको थियो । त्यही विषयमा थप छलफल गर्न दोस्रो पुस्ताका नेताहरूसमेतको बैठक सिंहदरबारमा करिब चार घण्टा बसेको थियो । बैठक सकारात्मक रूपमा अघि बढेको र बाँकी विषयमा शनिबार कार्यदल बनाएर छलफल गर्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । ‘कुराकानी सौहार्दपूर्ण तरिकाले सकारात्मक रूपमा अघि बढेको छ,’ नेम्वाङले भने, ‘बाँकी सहमतिका लागि कार्यदलमा छलफल हुन्छ ।’

छलफलमा ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल र रामबहादुर थापा सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागिता थियो ।


प्रतिकृया दिनुहोस