२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

बिहिबार ३०, बैशाख २०७८ ०२:४१

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अपरान्ह ४ बजे पार्टी पदाधिकारी बैठक बोलाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।

४ बजे बोलाइएको बैठका पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन् । कांग्रेसनिकट उच्च स्रोतका अनुसार बिहीबार बिहान देउवा निवासमा भएको जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि देउवाले बैठक बोलाएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका चार नेतालाई गरेको कारबाही बिहीबार नै फुकुवा गरेका छन् । यसलाई माधव समूहका नेताले सकारात्मक भनेर प्रतिक्रिया दिएका छन् । उता एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच पनि भेटवार्ता भइरहेकाे छ ।

यी सबै परिस्थिति र समीकरणहरुबारे छलफल गरी पार्टीबाट निर्णय गराउन देउवाले बैठक बोलाएका हुन् ।


प्रतिकृया दिनुहोस