२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

वामदेव गौतम भन्छन्, 'माधव नेपालले पार्टी फुटाए म साथ दिन्छु'

सोमबार २७, बैशाख २०७८ ०२:४२

वामदेव गौतम भन्छन्, 'माधव नेपालले पार्टी फुटाए म साथ दिन्छु'

काठमाडाैं । नेकपा एमालेका नेता वामदेव गौतमले माधवकुमार नेपालले पार्टी विभाजन गरेर जाने अवस्थामा आफूले सहयोग गर्ने बताएका छन् ।

पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउनेजस्ता काममा भने आफ्नो सहमति नहुने उनको भनाइ छ। गौतमले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत् दुई धारणा सार्वजनिक गर्दै सोमबार उक्त कुरा भनेका हुन्।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ गौतमले भनेका छन्, ‘तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

गौतमले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ मा फर्कन पनि आग्रह गरेका छन्। तर ओलीले उक्त आग्रह स्वीकार नगरेको गौतमको भनाइ छ। ओलीलाई गौतमले त्यसो भए म साथमा छैन भन्ने जानकारीसमेत दिइसकेका छन्।

प्रधानमन्त्री ‌ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने तयारी गरिरहेका बेला गौतमले उक्त कुरा बाहिर ल्याएका हुन्। एमाले नेता माधव नेपाल पक्षका सांसदले ओलीलाई विश्वासको मत नदिने र आज प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने निर्णय पनि गरेका छन्।


प्रतिकृया दिनुहोस