२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

- विशेष खबर सोमबार ०६, बैशाख २०७८ ०१:५५

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

भावी मुख्यमन्त्रीमा नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा प्रस्ताव दर्ता गरिएको कांग्रेसका मुख्य सचेतक फकरुद्धिन खानले बताए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरे ।

प्रदेशसभामा अहिले ८५ सदस्य छन् । सरकार बनाउन ४३ प्रदेश सभाका सदस्यको हस्ताक्षर आवश्यक पर्छ । जनता समाजवादीकी कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले हस्ताक्षर गरेका छैनन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा माओवादीले दुई सांसदको पद निलम्बन गरेपछि ८५ सांसद छन् ।

सचिवालयका सचिव पुनले कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ जनाको हस्ताक्षर रहेको बताए । जनमोर्चाले यसअघि नै अविश्वासका प्रस्तावमा समर्थन गर्ने जनाए पनि तारा जिसी बाहिर रहेकाले हस्ताक्षर हुन नसकेको हो । जसपाकी पाण्डेले भने केन्द्रबाट कुनै निर्णय नआएको र हस्ताक्षरका लागि कसैले आग्रह पनि नगरेकाले आफूले हस्ताक्षर नगरेको बताइन् ।

तत्काल कायम रहेको ८५ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४३ मत आवश्यक हुन्छ ।


#लुम्बिनी प्रदेश #शंकर पोखरेल

प्रतिकृया दिनुहोस