२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, बैठक अवरुद्ध गरे अधिवेशन अन्त्य गर्ने तयारी

- विशेष खबर आइतबार ०५, बैशाख २०७८ ०९:०४

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, बैठक अवरुद्ध गरे अधिवेशन अन्त्य गर्ने तयारी

विराटनगर । प्रदेश १ को प्रदेश सभामा देखिएको गतिरोध अन्त्यका लागि आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् । विशेष समयमा मुख्यमन्त्री राईलाई बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सदनमा आइतबार मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेको बताए । ‘प्रतिपक्षी दलहरूले विशेष समयमा मुख्यमन्त्रीज्यूलाई बोल्न नदिए त्यसपछि सरकारले निर्णय लिन्छ,’ उनले भने, ‘अहिले सदनको गतिरोध अन्त्यका लागि प्रतिपक्षी दलहरूसँग छलफल गरिरहेको र निकास ननिस्किए सरकारले निर्णय लिने छ ।’

सत्तारुढ दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सहमति कायम नगरेसम्म सरकार प्रमुखलाई जबरजस्ती बोल्न नदिने बताए । सदनमा अबरोध कायमै रहने उनको भनाई छ । प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सदन अवरोध गर्दै आएका दलहरूसँग सहमति नगरेसम्म मुख्यमन्त्री राईलाई प्रदेशसभा बैठकमा बोल्न नदिने बताए । चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरूको स्रोतको सुनिश्चितताको माग गर्दै सत्तारुढ दल माओवादी केन्द्रका साथै सबै प्रतिपक्षी दलहरूले चैत २६, २७ र ३० गते बसेको बैठक अवरुद्ध गरेका थिए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको थियो । सरकारले बजेट घाटामा सन्तुलन कायम गर्न मन्त्रिपरिषद् निर्णयमार्फत चालु आर्थिक वर्षको असोजमै ५० प्रतिशत बजेट कटौती गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार र विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रमको समेत बजेट कटौति भएपछि प्रदेशसभामा विवाद उत्पन्न भएको हो ।


#प्रदेश १ #प्रदेश सभा #शेरधन राई

प्रतिकृया दिनुहोस