२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

प्रधानमन्त्रीलाई थापाको चुनौती : ३ वर्षमा के के काम भए तथ्य र तथ्यांकमा टेकेर संसद‌मा बहस गराैं

- विशेष खबर बिहिबार २६, चैत २०७७ ०२:५२

प्रधानमन्त्रीलाई थापाको चुनौती : ३ वर्षमा के के काम भए तथ्य र तथ्यांकमा टेकेर संसद‌मा बहस गराैं
तस्बिरः रासस ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सांसद गगनकुमार थापाले सरकारले गरेका कामलाई लिएर संसद्मा बहस गर्न आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले प्रधानमन्त्रीलाई संसद्मा आएर बहस गर्नका लागि निम्तो र चुनौती दिएका हुन् । प्रधानमन्त्रीले बाहिर 'मिथ्यांक प्रस्तुत गर्दै' मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन चुनौती दिएका हुन् ।

'मैले यहाँ उभिएर कुनै कुण्ठा पोखेको होइन । यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु । तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छु,' थापाले प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै भने, 'म तपाईंलाई संसद्मा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु । तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के चिलिमे बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसद्मा आएर बाल कविता वाचन गर्ने ?'

थापाले प्रधानमन्त्रीलाई संसद् छलेर र संसद्‌बाट भागेर नजान भन्दै चुनौती दिए । उनले पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै व्यंग गरे । थापाले विकास गर्ने प्रणाली परिवर्तन गर्नका लागि सरकार अग्रसर हुनुपर्ने र त्यसमा आफूहरूले सहयोग गर्न तयार रहेको बताए । मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्ल ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको उनको भनाइ थियो ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले पटकपटक खानेपानी उद्घाटन गरेको, निर्माण सकिएको दुई वर्षपछि पनि पुलको उद्घाटन गरेको तथा काम बीचमा पुगेपछि विभिन्न योजनाको शिलान्यास गर्नु तमासा भएको थापाको भनाइ थियो । उनले शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओलीले रेकर्ड राख्न खोजेका हुन् कि भनेर प्रश्न गरेका थिए ।


#गगन थापा

प्रतिकृया दिनुहोस