२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

सर्वोच्च अदालतले विचित्रको फैसला गर्याे : माधव नेपाल

- विशेष खबर शनिबार १४, चैत २०७७ ०६:२६

सर्वोच्च अदालतले विचित्रको फैसला गर्याे : माधव नेपाल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गरेका छन् । 

बृहत् नागरिक आन्दोलनद्वारा शनिबार काठमाडौंमा आयोजित समसामयिक विषयको अन्तरक्रियामा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताए ।

उनले भने, ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सार्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’

एमालेबाट समेत आफूलाई निष्कासन गर्ने स्थितिको अनुमान गर्दै नेता नेपालले त्यसबाट आफू नडराउने पनि प्रस्ट पारे । उनले भने, ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’

उनले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताए । उनले भने, ‘महन्थजीको र मिनेन्द्रजीको दयाकृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’ पार्टीभित्र फरक गुट चलाएको आरोप लगाउँदै एमाले केपी ओली समूहले माधव नेपालसहित चार नेतालाई केन्द्रीय समिति बैठकबाट स्पष्टीकरण सोधेकोमा नेपाल र उपाध्यक्ष भीम रावलले लिखित जवाफ दिइसकेको छ । नेपाल र रावलको जवाफ कारबाहीयोग्य रहेको पार्टी अध्यक्ष ओलीले प्रारम्भिक प्रतिक्रिया जनाइसकेका छन् ।


#माधवकुमार नेपाल #बृहत् नागरिक आन्दोलन

प्रतिकृया दिनुहोस