२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

सरकार र चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर

- विशेष खबर शुक्रबार २१, फागुन २०७७ ०३:३६

सरकार र चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ — सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा भनिएको छ ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं । आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । सोही सहमतिलाई शुक्रबार विशेष समारोहकाबीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस