२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा, नेता-कार्यकर्तालाई छाड्न गृहको सर्कुलर

- विशेष खबर बिहिबार २०, फागुन २०७७ ०७:३९

विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा, नेता-कार्यकर्तालाई छाड्न गृहको सर्कुलर

काठमाडौं । सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरिएको थियो । यो सहमतिलाई बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए । 

शुक्रबार सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ ।

हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गरेको थियो ।

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।


#नेत्रविक्रम चन्द #गृह मन्त्रालय

प्रतिकृया दिनुहोस