२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

राप्ती किनारमा ‘अम्ब्रेला स्ट्रिट’

शुक्रबार ०२, फागुन २०७६ ११:५२

राप्ती किनारमा ‘अम्ब्रेला स्ट्रिट’

 सरकारले सय पर्यटकीय गन्तव्यभित्र समावेश गरेको भरतपुर महानगरपालिका–२२ पटिहानीमा बनाइएको उक्त स्ट्रिटको लम्बाइ १२० मिटर छ।

९० मिटरसम्म ४८० वटा रंगिन छाता राखिएको छ। आडैमा रङ फेरिरहने वाटर फाउन्टेन (पानीको फोहरा) र सूर्यास्त नियाल्न मिल्ने ठाउँ पनि छ। पर्यटकलाई थप मोहित पार्न मानवनिर्मित थप संरचना पनि पटिहानीवासीले तयार गरेको वडाध्यक्ष विष्णुराज महतोले बताए।

बिहीबार नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘अम्ब्रेला स्ट्रिट’ को शुभारम्भ गर्दै यसले पटिहानीको पर्यटन विकास र विस्तार गर्न थप सहयोग पुर्‌याउने विश्वास व्यक्त गरे ।
 
करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको स्ट्रिट करिब तीन करोडको लागतमा निर्माण सम्पन्न गरिएको वडाध्यक्ष महतोले बताए । रङ्गीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ ।

यसको प्रचारप्रसार तथा स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्न यहाँ पटिहानी खाना महोत्सव आयोजना गरिएको छ । महोत्सवमा २० वटा प्रदर्शनीकक्ष रहेका छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले बताए ।

साङ्गीतक कार्यक्रमसमेत आयोजना गरिएको छ । यहाँ आउने पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ । पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य सङ्घ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन्  ।


प्रतिकृया दिनुहोस