२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुस्ः प्रधानमन्त्री ओली

- विशेष खबर मङ्गलबार २७, माघ २०७७ ०४:४५

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुस्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको चुनावका तयारीबारे बुझ्न मगंलबार निर्वाचन आयोगमा ।तस्बिरः रासस ।

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे दिएका छन् । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।
 
प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त सहितका आयुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन समेत गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
 
निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुने तथा कुनै कमी हुन नदिइने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्काे निवेदन पनि प्राप्त भएको जानकारी गराएका थिए ।
  
प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गरेका थिए । प्रधानमन्त्री ओलीले मूलतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति गएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले बताएका छन् ।
 
प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिएका पूर्वसभामुख सुवास नेम्वाङलगायत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता आयोग पुगेका थिए ।


#प्रधानमन्त्री केपी शर्मा ओली #निर्वाचन तयारी

प्रतिकृया दिनुहोस