२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

संवैधानिक आयोगमा गरिएका नियुक्ति विरुद्ध सभामुख सापकोटाद्वारा सर्वोच्चमा निवेदन पेस

- विशेष खबर शुक्रबार २३, माघ २०७७ १२:०५

संवैधानिक आयोगमा गरिएका नियुक्ति विरुद्ध सभामुख सापकोटाद्वारा सर्वोच्चमा निवेदन पेस

काठमाडौं । संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति संविधानविपरीत भएको भन्दै  सभामुख अग्निप्रसाद सापकोटा निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । 

केही बेरअघि सभामुख सापकोटाले सर्वोच्च अदालतको मुद्दा महाशाखामा निवेदन पनि पेस गरेका हुन् । सभामुख सापकोटाले निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा स‌ंवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।

नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका स‌ंवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ । त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने सभामुख सापकोटाले रिटमा उल्लेख गरेका छन् ।

सभामुख सापकोटासँग दाहाल-नेपाल नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका छन् । अहिले निवेदन पेस भइसकेको र दर्ताको प्रक्रियामा रहेको पनि सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले पेस गरेको निवेदनमा ३९ जनालाई विपक्षी बनाइएको छ। तिनमा संवैधानिक परिषद् अध्यक्ष, सदस्यलगायत सबै पदाधिकारीहरू छन् ।

असंवैधानिक ढंगले ल्याएको अध्यादेशका भरमा अपूरो संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शीतलनिवासमा शपथ गराइएको थियो।


#संबैधानिक आयोग #सभामुख

प्रतिकृया दिनुहोस